कैलाली। सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहसहितका नेता प्रदेश सरकार बिस्तारका लागी शिर्ष तहका नेतासँग भेटघाट गरेपनी मन्त्रालय भागबन्डा टुङ्ग्याउन सकेका छैनन्। बैशाख २४ गते मुख्यमन्त्री शाहसहितकानेता सरकार बिस्तार गर्ने भन्दै काठमाडौंमा गएका थिए।
सत्ता गठबन्धनको शीर्ष नेताहरू बिच सहमति गरेर भागबन्डा टुङ्गो लगाउन ३ दिन काठमाडौँको बसाईले निर्णय नभएपछि उनीहरु फर्किएका थिए । सरकार विस्तारमा शीर्ष नेताहरू गम्भीर नभएको भन्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर कैलाली फर्किएका हुन् । तीन महिनासम्म पनि सरकार विस्तार नहूँदा मुख्यमन्त्री कमल शाहलाई भागबन्डा नमिल्दा सकस परिरहेको छ।माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ गते भौतिक पूर्वाधार विकास मन्त्रालयका कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीमा नरेश शाहीलाई नियुक्त गरेका थिए।
अहिलेसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अहिले सम्म मन्त्रीविहीन छन्। २१ फागुनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्र अहिले सम्म पनि सरकारमा सहभागी भएका छैनन्। माओवादी केन्द्रले तीन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सहमति हुन सकेको छैन। नागरिक उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दाबी राखेका छन्। २ मन्त्रालय पाएको अवस्थामा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने करिब पक्का छ।
तर, सामाजिक विकास मन्त्रालयमा माओवादी केन्द्रले पनि दाबी कायमै राखेको छ। माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय सँगै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेका छन्। तीन मन्त्रालय पाउँदा ओम विक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी विक मन्त्री बन्ने सम्भावना बढि रहेको छ । उनीहरु बाहेक रमेश धामी, झपट साउद र शिवसिंह ओली मध्येबाट एक जनालाई मन्त्री बनाउन सक्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ। माओवादी केन्द्रले दाबी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेपाली कांग्रेसले पनि दाबी कायमै राखेको छ । सुदूरपश्चिम प्रदेशमा चार मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । अहिले सम्म माओवादीले तीन, नागरिक उन्मुक्तिले दुई र नेपाली कांग्रेसले एक मन्त्रालयमा दाबी गरिरहेको छ ।प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्।


