काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन्।
साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन्।आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न सञ्चार माध्यममा आफ्नो नाम जोडेर कुराकानी गरिएको अडियो सार्वजनिक गरिएको आरजूको आरोप छ ।
उक्त अडियोबारे तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै उनले दोषीमाथि कडा कानूनी कारबाही हुनुपर्ने बताएकी छन् । ‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ।


