काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बुधबार बिहान पक्राउ परेका खाणलाई ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो। म्याद थपका लागि अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर, टेकुबाट स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणपछि सरकारी वकिल कार्यालय लगेर त्यहाँबाट अदालत पुर्याइएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन्। आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्। प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन्।


