धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ३ दिनदेखी काठमाण्डौँमा रहेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रदेशको मन्त्रीमण्डल विस्तार र मन्त्रालय भागबण्डा मिलाउन र छलफल गर्न आईतबार काठमाडौं पुगेका थिए।
मुख्यमन्त्रीसंगै भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट, माओवादीका सांसद ओम विक्रम भाट सरल र अक्कल रावल पनी काठमाण्डौँमै छन् । मूख्यमन्त्रीमा नियुक्त भएका कमल बहादुर शाहको आज ठिक ३ महिना पुरा भएको छ। प्रदेशमा सरकार विस्तारमा शीर्ष नेताहरूलाई सहमति गर्न दबाब दिँदै आएका छन्। आज कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट्न गएका सबैले हिजो (सोमबार) माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए।
उनीहरुले सरकार विस्तार गर्न शीर्ष नेताहरू बिच सहमति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। प्रचण्ड र देउवा दुबैलाई भेटेपछि आजै साँझ सम्म भागबन्डा टुङ्गिनेमा माओवादी नेताहरू रहेका थिए। आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतका नेताहरूले कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन्। सभापति देउवाले आजै भागबन्डा टुङ्गो लगाउने आश्वास दिएका थिए । ‘प्रदेश सरकारलाई पूर्णता दिने बारे आजै प्रधानमन्त्रीसँग कुरा गर्छु’, देउवाले भनेका थिए।
भेटमा सहभागी एक नेताले अहिलेसम्म नटुङ्गीएको बताए।‘प्रदेशमा धेरै पार्टी भएको हुँदा सहमति गर्न कठिन भएको भन्दै केन्द्रबाटै भागबन्डा टुङ्गो लगाउन आग्रह गरिएको बताए। यता भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका शाहले क–कसलाई मन्त्री बनाउने हो ? भन्दै नाम मागेका छन्। माओवादी अध्यक्षले मंगलबार साँझसम्म पार्टीका तर्फबाट सरकारमा जाने व्यक्तिको नाम दिने आश्वासन दिएका छन् भने देउवाले शिर्ष तहमा छलफल गरेर अन्तिम निर्णय दिने भन्दै फर्काएका छन्।
दलहरुबीच आज रातभर कुरा मिलेमा बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री शाह रहेको उनी निकट स्रोत बताएको छ। तर भागबन्डा नमिलेमा भोली बुधबार नै विस्तार गर्ने तयारी हुन सक्ने बताइएको छ । देउवालाई मुख्यमन्त्री शाह र माओवादी संसदीय दलका नेता भट्टले सरकार विस्तारमा भइरहेको ढिलाइ बारे जानकारी गराएका थिए। माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएको शाहले अहिले सम्म दुई जना बाहेकलाई मन्त्रीमा नियुक्त गर्न सकेका छैनन् । काङ्ग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा नरेश शाहीले जिम्मेवारी पाएको तीन महिना भएको छ । त्यस बाहेक सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री छैनन् । यी मन्त्रालयमा आज वा भोली भित्रै मन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीले तयारी गरिरहेका छन् । देउवा र प्रचण्ड बिच छलफल भए लगत्तै प्रदेश सरकारले पूर्णता पाउने बताइएको छ ।