कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा ८ का ४५ वर्षीय अनिल डगौराको रुखको हाँगा खसेर नभई बञ्चरो उछिट्टिएर मृत्यु भएको खुलेको छ। शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो उछिट्टिएर मृत्यु भएको खुलेको हो।
ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले काठ काट्ने क्रममा बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको बताए। उनको टाउकोमा चोट लागेको थियो।उनले काठ काट्ने क्रममा बञ्चरो उछिट्टिएर अनिललाई लागेको बयान दिएको बताए। अनुसन्धानका लागि लालबहादुरसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बताए।
प्रहरीले लालबहादुरमाथी ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेको जनाएको छ। घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको जनाएको छ।यता सामुदायिक वनले रुख कटानका लागि आदेश समेत नदिएको जनाएको छ। डिभिवन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले काठ काटेकोबारे अनुसन्धान गरिरहेको र काटेको पाइएमा रुख काट्न र काट्न लगाउनेलाई वन ऐन अनुसार कारबाही गरिने जानकारी दिएका छन् ।