धनगढी। सुदुरपश्चिममा एमाले नेतृत्वको सरकारमा एक महिनासम्म बिना विभागीय मन्त्री बनेका खगराज भट्ट यसपटक मन्त्री नबन्ने भएका छन्। नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारमा बिना विभागीय मन्त्री बनेका भट्ट मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारमा मन्त्री नबन्ने भएका हुन्।
माओवादी संसदीय दलका नेता समेत रहेका भट्टले भौतिक पूर्वाधार वा आर्थिक मामिला मन्त्रालय नपाउने अवस्था बनेपछि शाह नेतृत्वको सरकारमा नजाने स्रोतले बताएको छ। माओवादी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा सरकारमा जाने चर्चा हुने गरेको थियो। तर भट्टले अन्तिममा शाह नेतृत्वको सरकारमा मन्त्रीका रुपमा जान अस्वीकार गरेका हुन्। सुदूर पश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीका रुपमा पठाउने सहमती भएको छ।
स्रोतकाअनुसार उनी साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने समझदारीअनुसार अहिले अन्य प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन्। माओवादीले भौतिक र आर्थिक मामिला मन्त्रालय नपाउने भएपछि तीन वटा मन्त्रालयमा दाबी गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दुई वर्षपछि मुख्यमन्त्री बनाउने प्रतिबद्धता गरेपछि भट्ट मन्त्री बन्नबाट पछि हटेको बताइएको छ । माओवादी केन्द्रबाट अक्कल बहादुर रावल र ओम बिक्रम भाट मन्त्री र लक्ष्मी बिक राज्यमन्त्री बन्ने संभावना छ।
माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ। त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ ।यस्तै दुई मन्त्रालयको दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने सांसदहरूको नाम टुंगो लगाएको छ । पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफू र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीको नाम पार्टीले टुंगो लगाएको जानकारी दिए।
आफूहरूले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै दुई मन्त्रालय नपाए सरकारमा नजाने दाबी गरेको छ। प्रचण्डले आज गठबन्धनका दलहरूको बैठकमा सबै भागबन्डा टुङ्गो लगाउने आश्वासन दिएका थिए । तर अहिलेसम्म मन्त्रालय टुङ्गो लागीसकेको छैन् । शाहले बुधबारसम्म मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्। चार महिनादेखि देखि सुदूर पश्चिम प्रदेश सरकारका चार वटा मन्त्रालय मन्त्री बिहीन छन् ।काठमाडौँमा रहेका मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तारबारे शिर्ष नेताहरुसँग छलफल गरिरहेका छन्।


