दार्चुला। दार्चुलामा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ। दार्चुलाको ब्याँस गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट(बीओपी)स्थापना गरेको हो ।
बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)किरण ढुंगाना, ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र प्रमुख जिल्ला अधिकारी किरण जोशीले सोमबार बीओपीको संयुक्त रुपमा उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टले बताए।
उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको छ। यो सँगै दार्चुलाको भारतसंग जोडिएको सीमा क्षेत्रमा बीओपीको संख्या चार पुगेको छ। केही महिना अघि सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका-६ को बाँकु र ब्याँस गाउँपालिका–२ को मालघाटमा झोलुङ्गे पुलमा पनि सुुरक्षा पोष्ट स्थापना गरेको थियो। ब्याँस गाउँपालिका–१ को तिङकरमा पनि थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गरिने सशस्त्र प्रहरीले जनाएको छ।