धनगढी। धनगढीमा खानेपानी सम्बन्धी प्रदेश स्तरीय समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोमबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ प्रदेश समितिको आयोजनामा धनगढीमा खानेपानी तथा सरसफाई सम्बन्धी सरोकारवालासंगको सुदूरपश्चिम प्रदेश स्तरिय समन्वय तथा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रदेशको खानेपानी तथा सरसफाईको अवस्था र समस्या समाधानका लागि कसरी जाने भन्ने विषयमा छलफल भएको हो।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य शेरबहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा अझै करिव ९ प्रतिशत नागरिकले स्वच्छ खानेपानी प्रयोग गर्न नपाएको बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा शुन्य दशमलव ९ प्रतिशत नागरिकले खोलाको पानी प्रयोग गर्ने गरेका छन् । यसैगरी दुषित पानी प्रयोग गर्ने नागरिकको संख्या पनि ६ प्रतिशत माथी रहेको उनले बताए।
सुदूरपश्चिम प्रदेशमा हाल सम्म ९१ दशमलव २ प्रतिशत नागरिकले मात्रै स्वच्छ पानी प्रयोग गर्ने गरेको र ८ दशमलव ९० प्रतिशत नागरिकले अझैपनि दुषित पानी प्रयोग गर्ने गरेको उनले बताए । कार्यपत्र गद उनले सुदूरपश्चिम प्रदेशका चार दशमलव चार प्रतिशत परिवार अझैपनि खुला शौच गर्दै आएको बताए ।नागरिक स्वच्छ खानेपानीको पहुँचमा आउनुमा खानेपानीका योजना लामो समय सम्म पनि निर्माण सम्पन्न नहुने, भएका योजना ५–१० बर्षमै बन्द हुने, योजना मर्मत नहुने, जलवायु परिवर्तनका कारण रहेका छन् ।कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ कैलालीका पुर्व सचिव गंगा दुलालले संघियता पछि खानेपानी उपभोक्ता समुह कहाँ दर्ता गर्ने भन्ने अन्यौंलता रहेको बताए ।‘स्थानीय तहले खानेपानी उपभोक्ता समुह दर्तागर्न पाउने गरेको बताउँदै प्रदेश र संघमा त्यो प्रावधान नभएको बताए ।
जसका कारण भएका खानेपानीका मुहान पनि संरक्षण गर्न सकिएको नसकिएको उनले भने । यो अन्यौलता हटाउन तर्फ महाँसंघ र स्थानीय तहले अगाडी बढ्नुपर्ने बताए ।फेकोफनकी महासचिव अनुपा चौधरीले लामो समयदेखि खानेपानी आयोजना बन्न नसकेका कारण नागरिक स्वच्छ खानेपानी प्रयोग गर्नबाट वञ्चित हुनुपरेको बताइन् । ‘२०६४–०६५ देखि बन्न थालेका खानेपानी आयोजनाहरु अहिले सम्म पनि निर्माण सम्पन्न नभएको उनले बताइन् । बनेका आयोजना पनि दुई चार बर्षमै बन्द हुने गरेको बताउँदै सवै नागरिकलाई स्वच्छ खानेपानीको पहँचमा ल्याउन जोड दिइन् ।कार्यक्रमकी अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकी प्रदेश अध्यक्ष रत्ना कडायतले आगामी नीति तथा कार्यक्रममा खानेपानीलाई प्राथमिकतामा राख्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेकि छन् ।
दुषित खानेपानीका कारण बर्षेनी हजारौं नागरिकले ज्यान गुमाउने गरेको अध्यक्ष कडायतको भनाई छ । समस्या समाधानका लागि तीन वटै तहका सरकार गम्भिर हुन जरुरी रहेको उनले बताइन ् । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समटेर कार्यान्वयनमा जोड दिन आग्रह गरिन्। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले भौतिक विकस भन्दा नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए । उनले अस्पताल भन्दा स्वच्छ खानेपानीमा लगानी बढाउन तर्फ ध्यान दिनु जरुरी रहेको बताए ।
सवैले स्वच्छ खानेपानी प्रयोग गर्न पाए ८० प्रतिशत रोग आफै निवारण हुनसक्ने भएकाले स्वच्छ खानेपानीको पहुँच बढाउने कार्यक्रमलाई बढी प्रार्थमिकता दिनुपर्ने बताए । उनले आफु निर्वाचन भएपछि नागरिकले माग गरेका मध्य ५० प्रतिशत योजना खानेपानीकै भएका समेत बताए । प्रदेश सभा सदस्य बमले आगामी कार्यक्रममा खानेपानीलाईनै प्राथमिकता दिने प्रतिबद्यता ब्यक्त गरेका छन् ।घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकसिंह रावतले जल, जंगल र जमिन स्वस्थ राख्न सकेमात्रै मानव स्वास्थ्य स्वस्त हुने बताए । सवै क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई प्रार्थमिकता दिइएको तर मानव जीवनसंग जोडिएको विषयमा कसैको चासो नदेखीएकोले स्वच्छ पानी आमी सवैको प्राथमिकतामा हुनपर्ने उनको जोड छ ।


