दार्चुला। दार्चुलाको ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी वेपत्ता भएका २ जनाको अवस्था अझै अज्ञात रहेको छ । गत साता मंगलबार दार्चुलाको ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी वेपत्ता भएकाहरुको खोजी जारी रहेपनि अहिलेसम्म उनीहरुको अवस्था अज्ञात रहेको हो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार सुरक्षाकर्मीको टोली दैनिक घटनास्थल जाने र खोजी गर्ने क्रम जारी छ ।हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा बेपत्ता छन् ।हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार नै भेटिएको थियो । ती शवको पोष्टमाटृम गरी दाहसंस्कारसमेत भइसकेको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव भेटिएको थियो ।अझै पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ। यार्सागुम्बा टिप्न गएका उनीहरू त्रिपाल टाँगेर बसिरहेका बेला मंगलबार हिमपहिरो खस्दा ५ जना बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए।