कैलाली। कैलाली र कञ्चनपुरमा जंगलको बाघ बस्तीमा देखिन थालेपछि त्रास बढ्न थालेको छ। कैलालीको भजनी क्षेत्रमा ‘रेडियो कलर’ जडित पाटेबाघ देखा पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ। भने कञ्चनपुरको बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाँड्ने काम भइरहेको छ।
कैलालीको भजनी क्षेत्रमा ‘रेडियो कलर’ जडित पाटेबाघ देखा पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ। भजनी नगरपालिका–५ को गुलरियाघाट तिकुनिया नाका क्षेत्रमा पाटेबाघ देखा परेपछि मानवीय क्षति नहोस् भनेर सुरक्षा सतर्कता बढाइएको हो ।सबडिभिजन वन कार्यालय भजनी, सुरक्षा निकाय, स्थानीय सरकारसहित सञ्चारमाध्यममार्फत सर्वसाधारणलाई सतर्क पारिएको छ । यसैगरी डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य गरिरहेको छ ।
विगत १०/१२ दिनयता सो क्षेत्रमा बाघको ओहोरदोहोर भइरहेकाले कुनै किसिमको मानवीय क्षति हुन नदिनका लागि सतर्क पारिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।बाघ देखा परिरहेको क्षेत्रमा तीनतिर मानव बस्ती छ । अहिले खेतमा रहेको उखु काटिएपछि त्यो बाघ भजनी नगरपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक कालिका सामुदायिक वनमा बस्न थालेको जनाइएको छ । गुलरियाघाटस्थित सशस्त्र प्रहरीको बेस क्याम्पनजिक माछापोखरी किनारमा सुतेको अवस्थामा बाघ देखिएको थियो।
यसैगरी ‘क्यामरा ट्र्याप’ गर्दा त्यसमा पनि बाघ देखा परेको छ । फोटोमा देखिएको रेडियो कलर जडित बाघ सम्भवतः पोथी रहेको वन कार्यालय प्रमुख रिजालले बताए । उनका अनुसार बाघ बस्तीनजिक आए पनि सम्भवतः नरभक्षी होइन तर सावधान रहन आवश्यक छ । बाघले सामुदायिक वनमा एउटा नीलगाई र अर्को गाई मारेर खाएको जनाइएको छ ।त्यसको गर्धनमा रेडियो कलर देखिएकाले डार्ट गरेर (लठ्याएर) छोडिएको बाघ हो । बाघ बूढो, बिरामी भएर सिकार गर्न नसकेर वा आफ्नो क्षेत्रबाट लखेटिएपछि मानव बस्ती क्षेत्रतिर आउने गरेको बताइन्छ ।वसन्ता कोरिडोरको भजनी क्षेत्रमा विगतमा समेत बाघ आए पनि फोटो भने सङ्कलन हुन सकेको थिएन । गत पुस–माघमा समेत वसन्ता, रामपुर, हसुलिया क्षेत्रमा रेडियो कलरजडित बाघ देखा परेको थियो ।
बाघहरू डमरु हुर्काउनका लागि वसन्तासहित भजनी क्षेत्रमा आउने गर्छन् ।बाघ पहिलो पटक क्यामरा ट्र्यापमा पारिएको सामुदायिक वन समन्वय समिति भजनीका भूतपूर्व अध्यक्ष एवं संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।बाघको ‘मुभमेन्ट’ बस्तीको अलि नजिक भइरहेकाले सबैलाई सावधान रहन वन कार्यालयले आग्रह गरेको छ । उद्धार गरेर बाघ राख्नका लागि नेपालमा अब खाली ठाउँ छैन । त्यसैले जहाँबाट आएको हो, त्यहीँ नै फर्किन दिने रिजालले बताए । त्यस्तै, वैशाख ८ गते बाघले मान्छे मारेको कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईँको खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्र वरपरको झाडी फाँड्ने कार्य भइरहेको छ।बाघ आक्रमणको घटनापछि पचुईंका स्थानीय त्रसित छन्। नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी फाँड्ने कार्य भइरहेको बेलौरी–८ का अध्यक्ष बिसराम रानाले जानकारी दिए।
झाडी फडान भएपछि खप्टीनाला क्षेत्र खुल्ला हुनेछ। स्थानीय घरबाहिर निस्किन डराइरहेका छन्। त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि बाघको त्रासले रातिमा मानिसको आवतजावत निकै कम भएको उनले बताए। मानिसमा आक्रमण गर्ने बाघको जोडी त्यस क्षेत्रमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा ठूलो घनाजङ्गल छैन ।वैशाख ८ गते घाँस काट्न गएकी बेलौरी–८ की गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । महिलालाई आक्रमणपछि बाघ खप्टी नालाको झाडीमा लुकेको थियो ।पचुईंमा महिलाको ज्यान लिने नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना जावलाखेलमा राखिएको छ । बाघको निगरानीका लागि बेलौरी–८ पचुईं क्षेत्रमा छवटा स्वचालित क्यामेरा जडान गरिएको छ ।