कञ्चनपुर। कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएका कुखुरा नष्ट गरिएका छन्। कञ्चनपुरको बेलौरी नगरपालीकाबाट प्रहरी टोलीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको जनाएको छ।
बिहीबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडा नम्बर ६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो। बेवारिसे अवस्थामा झण्डै एक सय ३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ। बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।