धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले प्रदेशमा शान्ति सुरक्षाकालागि चार प्रतिबद्धता ब्यक्त गरेका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा डिआइजी बोहराले शान्ति सुरक्षा कायम गराउन चार प्रतिबद्धता ब्यक्त गरेका हुन्।
उनले लागुऔषधको दुर्व्यसनी, चोरी तस्करी, गुण्डागर्दीको नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्ने कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। शान्ति, सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका कैलाली र कञ्चनपुरको निरीक्षण गरिसकिएको बताउदै विशेष सुरक्षा योजना बनाएर लैजाने बताए। कैलाली र कञ्चनपुरमा सबै भन्दा ठुलो समस्या लागुऔषध रहेको र लागुऔषधकै कारण पनी गुण्डागर्दी र तस्करी बढेकाले नियन्त्रण लिने र फरार अभियुक्त पक्राउलाई तीव्रता दिइने उनले दाबी गरे।
आफू सुदूरपश्चिमकै बासिन्दा भएका कारण प्रदेशबासीलाई शान्ति, सुुरक्षाको प्रत्याभूती हुनेगरी काम गर्ने पनि बताएका छन् । कार्य सम्पादनका क्रममा प्रहरीलाई सबै पक्षबाट सहयोग हुने विश्वास समेत उनले बताए। ‘शान्ति सुरक्षाको विषयमा हामी गम्भीर रहेकाले तपाइ हामी सबै मिलेर शान्ति सुरक्षा अझै मजबुत बनाउनु पर्ने उनको जोड छ । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले डीआईजी बोहरालाई खादा र माला लगाएर उनलाई सम्मान तथा स्वागत गरेका थिए।व्यवसायीहरुले शान्ति, सुरक्षाको प्रत्याभूती हुनेगरी काम गर्न समेत आग्रह गरेका छन् । लागुऔषध नियन्त्रण लगायत अन्य कुरामा प्रहरीसँग उद्योगी व्यवसायी समन्वय गरेर अघि बढ्न तयार रहेको बताएका थिए । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले डिआइजीको सफल कार्यकालको शुभकामना दिएका थिए।


