दार्चुला। दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी आज तेस्रो दिन पनि जारी रहेको छ। मंगलबार हिमपहिरोमा परी बेपत्ता भएका डोटीको जोरायल–२ बुडरकी २८ वर्षीया इश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजी कार्य चलिरहेको भएपनि अहिलेसम्म उद्धार टोलीले सफलता पाउन सकेको छैन।
हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू–भदै हुन। उनीहरु एक साताअघि मात्रै यार्सागुम्बा संकलनका लागि छाङरु पुगेका थिए। त्यहाँबाट ५/६ घण्टाको उकालो पैदल भोलुम डाडा उक्लिएका दुबै जना हिमपहिरो जाँदा पालमा बसिरहेका थिए। खोजीमा आज बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी र उद्धार टोलीले खटिएपनी निरन्तरको वर्षा र हिमपातले खोजी कार्यमा कुनै प्रगति नभएको दार्चुला प्रशासनले जनाएको छ ।बुधबार उद्धार टोलीले भीरमा अड्किएका दार्चुलाको दुहु गाउँपालिका–४ कि ३६ वर्षीया कमला कुँवर र डोटी जिल्लाको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापाको शव निकालेको थियो । यसअघि दार्चुला ४ का प्रवीण कुँवरको शव पाइएको थियो। पाइएका शव सदरमुकाम खलंका ल्याउन भारतीय पक्षले केही बेर अगाडि मात्रै मञ्जुरी दिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए। भारतले स्व्किृति दिन ढिलाई गरेकोले बिहीबार नै शव खलंगा ल्याउन कठीन रहेको उनले बताए। यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका ७ जनाको उद्धार गरेको थियो।आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइनसकेको प्रहरीले जनाएको छ। घटनापछि यार्सा संकलक सुरक्षित स्थानतर्फ झरिसकेको छाङरुस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताए। तीन वटा शव भने भारतीय सडक मार्ग भएर परीक्षणका लागि सदरमुकाम खलंगा ल्याउन थालिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप धामीले बताए। भारतीय प्रशासनसँग समन्वय गरी एक घण्टा अगाडि एम्बुलेन्समा राखेर शव दार्चुला ल्याउन थालिएको उनको भनाई छ। मंगलवार दिउँसो पौने ३ बजे दार्चुलाको व्यास १ छाङरुस्थित बोलिनमा हिमपहिरोमा यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए। बिहीबार पनि खराबमौसमकै बीच वेपत्ताको खाजी कार्य भइरहेको धामीको भनाई छ । शव रहेको आशंका गरिएको स्थानको प्रकृति हेर्दा शव फेला पार्न कठीन भएको उनले बताएका छन् ।