दार्चुला। दार्चुलाको हिमपहिरोमा परि बेपत्ता भएकाहरूको पहिचान खुलेको छ।मङ्गलवार जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्धार गरिएको छ भने ५ जना अझै बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
यार्सा संकलनका लागि १२ जनाको समूहमा रहेका मध्ये ५ जना तल फर्कने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका हुन्। बेपत्ता भएकाहरुको खोजी कार्यका लागि मंगलबारदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको भएपनि हिमपात भइरहेका कारण समस्या भएको प्रहरी निरीक्षक सिंहले बताए। आज बिहानै देखि सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली गएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन । तर लगातार हिमपात भइरहेकाले खोजी कार्य प्रभावित भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन ।

