धनगढी। सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद् विस्तार नहुँदा प्रदेशका बिभिन्न मन्त्रालयको कामकाज प्रभाबित बनेको छ । प्रदेशका ४ मन्त्रालय करिब पाँच महिना देखी नेतृत्व बिहीन बन्दा बिभिन्न क्षेत्रमा यस्को असर परिरहेको छ । गत २६ पुसदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन् । मन्त्रीविहीन बन्दा चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा समस्या भएको छ ।
त्यसैमध्य प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न ढिलाई भएको छ । सो मन्त्रालयले चालू आर्थिक वर्षको साढे ९ महिनामा ३३ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । चालू आवको बैशाख १४ गतेसम्मको तथ्यांकअनुसार मन्त्रालयले चालूतर्फ ९५ करोड ५९ लाख ७९ हजार र पुँजीगततर्फ ७ करोड ९० लाख २ हजार गरी कूल १ अर्ब ३ करोड ४९ लाख ८१ हजार बजेट खर्च गरेको हो ।
आर्थिक वर्षको साढे ९ महिना बितिसक्दा पनि मन्त्रालयले चालूतर्फ ३४.५६ प्रतिशत र पुँजीगततर्फ २१.५८ प्रतिशत गरी कूल ३३.०५ प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले बताए । जुन कूल विनियोजित बजेटको केबल एक तिहाइ मात्र हुन आउँछ ।मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयअन्तर्गतका विभिन्न समितिमा बजेट र कार्यक्रम पठाउनुपर्ने भए पनि मन्त्री नियुक्त नभएकाले बजेट कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएको हो। मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा लैजानुपर्ने योजनाहरू मन्त्रिपरिषद् विस्तार हुन नसक्दा कार्यान्वयनमा जान सकेको छैन ।
कृषकलाई वितरण गर्नुपर्ने अनुदान तथा अन्य कार्यक्रमहरू सञ्चालनका प्रक्रिया सुचारु भएका छैनन् । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयअन्तर्गतका विभिन्न समितिमा बजेट र कार्यक्रम पठाउनुपर्ने भए पनि मन्त्री नियुक्त नभएकाले बजेट कार्यान्वयनमा ढिलाइ भएको छ ।अघिल्लो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुँजीगततर्फ विनियोजित ३१ करोड ३९ लाखमध्ये २१ करोड ६३ लाख रुपैयाँ मात्र खर्चेको थियो । जुन विनियोजित बजेटको ६८.९३ प्रतिशत हो । यस्तै चालूतर्फ विनियोजित २६ करोड ४५ लाखमध्ये १९ करोड ९५ लाख मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
उक्त तथ्याङ्क र चालू आवमा हालसम्म पनि बजेट खर्च हुन नसकेको अवस्थालाई हेर्दा विनियोजित बजेट खर्च हुन नसक्ने समस्यालाई सङ्केत गर्छ। मन्त्रालय तथा अन्तर्गतका कार्यालयलाई चालू आर्थिक वर्षमा चालू र पुँजीगत गरी कूल ३ अर्ब १३ करोड १८ लाख ६६ हजार रकम विनियोजन भएको छ । जसमध्ये पुँजीगतमा ३६ करोड ६० लाख ६ हजार र चालूतर्फ २ अर्ब ७६ करोड ५८ लाख रकम रहेको छ।प्रदेश सरकारले चालू आर्थिक वर्ष सकिन अढाइ महिना मात्र बाँकी रहँदा २५ अर्ब ३० करोड ७५ लाख ८४ हजार बजेट कार्यान्वयन गर्न बाँकी छ । चालूतर्फ सात अर्ब ५८ करोड ४४ लाख ९५ हजार र पुँजीगततर्फ १७ अर्ब ४२ करोड ३० लाख ८८ हजार रुपैयाँ कार्यान्वयन गर्न बाँकी रहेको छ।


