काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।
नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ ।
प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर पाँच करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।यो गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइपर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल, भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन्।
पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जामन्त्री रायमाझीकै सहयोगी थिए ।बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरजको नामसमेत रकम संकलनका मध्यस्थकर्ताका रुपमा आइसकेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा गिरोह सञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।