बैतडी। बैतडीमा सर्पले टोकेपछि महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका –२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारलाई सर्पले टोकेपछि वैद्यकहाँ लगिएपछि झारफुककै भर पर्दा मृत्यु भएको हो।
शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा लुहारलाई सर्पले टाउकोमा टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन। सर्पले टोकेपछि लुहारलाई स्थानीय वैद्य कहाँ झारफुकका लागि पुर्याएको र उतै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए। मृतक लुहारको शव पोष्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ।


