कञ्चनपुर। कञ्चनपुरमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रस्थित अतिक्रमण हटाउन थालिएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।
दोधारा चाँदनीका नगर प्रमुख किशोर लिम्बूले भारतसँग सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको बताए। उनले दोधारा चाँदनीमा नेपाल–भारत अन्तराष्ट्रिय सीमाको दशगजा क्षेत्रमा लामो समयदेखि नेपाल र भारत दुवैतर्फ खेती गरिएको छ।नगर प्रमुख लिम्बूले दशगजा खाली नहुँदा बेला बेला हुने विवाद अन्त्य हुने बताउँदै अहिले खेतीपाती भित्र्याएको अवस्थामा दशगजा खाली गर्न सजिलो बताए।
दशगजा क्षेत्रको अतिक्रमण खाली गराउने काम सुरु भएकोमा पहिलो दिन डेढ किलोमिटर क्षेत्र खाली गराएको बताए । खाली नहुँदासम्म यो कार्य निरन्तर चल्ने उनले बताए । पहिलो दिन दोधारा चाँदनी–३ बडुवाल टोलस्थित मुख्य सीमा स्तम्भ ८०० देखि सहायक स्तम्भ नम्बर ८-४ सम्मको क्षेत्र खाली गरिएको छ। दशगजा खाली गर्ने काम सशस्त्र प्रहरी, जनपद प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र जनप्रतिनिधि लगायतको समन्वयमा संयुक्त रुपमा थालिएको हो।
कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर सीमा भारतसँग जोडिएको छ। उक्त कार्यमा सुरक्षाकर्मीसँगै नगरपालिकाका सर्भेक्षक समेत खटिएका छन्। सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले नियमित कार्यक्रम अन्तर्गत दशगजा खाली गराउने काम भइरहेको बताए। दशगजामै घर टहरा लगायत पक्की संरचना तथा नयाँ घर टहरा बनाउन पनि रोक लगाइएको उनले बताए । उनले सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट (बीओपी)स्थापना भएदेखि नै एसएसबीसँग समन्वय गरेर दशगजा खाली गर्ने गरिएको जानकारी दिए।


