कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ मा जैविक तटबन्धन निर्माणको कार्य सुरु गरिएको छ। शुक्लाफाँटामा सुनवरा नदीले जमिन कटान गर्न थालेपछि रोकथाम तथा न्यूनिकरणका लागि वडा कार्यालय नजिकै जैविक तटबन्धन निर्माणको कार्य सुरु गरिएको हो।
सोमबार नगर प्रमुख रण बहादुर महराले जैविक तटबन्धनको उद्धघाटन गरेसंगै निर्माण कार्य अघि बढेको हो । नगर प्रमुख रण बहादुर महराले जैविक तटबन्ध निर्माणका लागि बजेटका अभाव हुन नदिइने जानकारी दिए। ‘एनएनएसडब्लुए र नगरपालिकाको सहकार्यमा जग्गा कटान रोकथामका लागि विभिन्न ठाउँहरुमा तटबन्धन निर्माण भइरहेको बताउँदै तटबन्धन निर्माणका लागि बजेट अभाव हुन नदिने नगरपालिकाले व्यवस्था गर्ने बताए ।
नगर प्रमुख महराले जैविक तटबन्धनलाई अभियानकै रुपमा नगरपालिकाले अगाडि बढाइरहेको समेत बताए । ‘हामीले जैविक तटबन्धन निर्माणको कार्यलाई व्यवस्थित तवरबाट अभियानकै रुपमा अगाडि बढाएका छौँ,उनले भने, नगरका अन्य वडाहरुमा पनि तटबन्धन निर्माणको कार्य जारी छ ।’ उनले विपदको क्षेत्रमा काम गर्ने एनएनएसडब्लुए एमरेड परियोजना लगायत सवै संघ संस्थाहरुलाई समन्वय र सहकार्य सहित कार्य गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।
नदी कटानले गाउँ नै बगाउने उच्च जोखिममा भएपछि रोकथामका लागि जैविक तटबन्धन निर्माण गर्न लागिएको वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बताए । नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)एमरेड परियोजना र शुक्लफाँटा नगरपालिका ३ नम्बर वडा कार्यालयको साझेदारीमा सुनवरा नदी कटान रोकथाम तथा न्यूनिकरणका लागि १७५ मिटर जैविक तटवन्धन निर्माण हुन लागेको वडाध्यक्ष चौधरीले बताए । पिपलाडी समुदायमा सुनवरा नदीले तिव्र रुपमा कटानी भइरहेको अवस्थालाई मध्यनजर गर्दै भविष्यमा थप हुन सक्ने कटानीलाई रोकथाम गर्नका लागि चालु आर्थिक वर्ष २०७९/८० मा छनोट भएको योजना बमोजिम १७५ मिटर जैविक तटवन्धन निर्माण कार्यका लागि एनएनएसडब्लुए एमरेड परियोजना सँग सहकार्य मार्फत निर्माण कार्य भईरहेको वडाध्यक्ष चौधरीको भनाई छ ।
जैविक तटवन्धनको कुल लागत रु ३ लाख १५ हजार ९ सय ४९ रुपैयाँ रहेको छ । जसमा वडा कार्यालयको २ लाख ५० हजार रहेको छ भने एनएनएसडब्लुएको प्राविधिक सहयोगका साथै रु ५३ हजार ६ सय ६४ रुपैयाँ र बाँकी समुदायको जन श्रमदान रहेको परियोजना संयोजक महेश घिमिरेले बताए । त्यस्तै स्याली नदीको तिव्र कटानी रोकथामका लागि शुक्लाफाँटा नगरपालिकासँग सहकार्य गरी १५० मिटर जैविक तटवन्धनको कार्य वडा नम्बर १ खजुवापट्टीमा निर्माण हुने भएको छ । निर्माण कार्यका लागि सम्झौता समेत भइसकेको परियोजना संयोजक घिमिरेले बताए । यो योजनाको कुल लागत रु २ लाख ७३ हजार ३४३ रहेको छ । जसमा नगरपालिको रु १ लाख ४३ हजार ५७३ रहेको छ भने एनएनएसडब्लुए एमरेड परियोजनाको रु ९० हजार १ सय २० रहेको छ ।
समुदायको तर्फबाट रु ३९ हजार ६ सय ५० जन श्रमदान रहेको छ । तटबन्धनको स्थायित्व तथा बलियोपना बढाउनका निमित्त बाढीको पानी सहन गर्नसक्ने, छिटै हुर्कने तथा बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका विरुवाहरू लगाउनुपर्ने परियोजनाका संयोजक घिमिरेले बताए । उनका अनुसार तटबन्धनमा लगाइएका बिरुवाबाट दोहोरो फाइदा लिनका निमित्त स्थानीय भू–बनोट र हावापानी सुहाउँदा जातहरूका बिरुवा रोप्ने कार्यमा परियोजनाले समुदायलाई प्राविधिक एवं आर्थिक सहयोग गर्ने छ । जैविक तटबन्धन निर्माण पश्चात् भौतिक,प्राकृतिक,सामाजिक,आर्थिक फाइदा पुग्ने परियोजना संयोजक घिमिरेको भनाई छ । नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, प्लाष्टिक बोरा, स्याउला, बालुवा र मानविय श्रोत)को उच्चतम प्रयोग गरेर जैविक तटबन्धन निर्माण गरिने उनले बताए । निर्माण कार्यलाई निरन्तरता दिन चेतराज डगौराको अध्यक्षतामा हल्दुघाट सामुदायिक विपद व्यवस्थापन समिति समेत गठन गरिएको छ । जैविक तटबन्धन निर्माण अगाडि बढ्न थालेपछि यहाँका स्थानीय हर्षित भएको बताएका छन् ।


