बैतडी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले १० गेपछि प्रदेश सरकारले पुर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले उप निर्वाचनपछि सुदूरपश्चिम सरकारले पुर्णता पाउने बताएका हुन् । शाहले केन्द्रमा गठबन्धन सरकार बनेकाले सोही अनुसार प्रदेश सरकारहरु बन्ने बताए ।
केन्द्रीय गठबन्धन अनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पूर्णता पाउने उनले बताए । यस्तै मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानि गर्नका लागि लगानिकर्ताहरुलाई आह्वान गरेको समेत बताए । यो क्षेत्रको विकासमा लगानिकर्ताहरुलाई निर्धक्क रुपमा लगानि गर्न आग्रह गरिएको उनले सुनाए ।
सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसंग जोडिएको पश्चिम सेती परियोजनाको काम अघि बढ्ने उनले दाबी गरे । अबको ६ महिनाभित्र पश्चिम सेती परियोजनामा देखिने गरेर काम हुने उनले बताए । उनले भने ‘अबको ६ महिना भित्र पश्चिम सेती परियोजनामा देखिने गरेर काम हुने हामीले विश्वास गरेका छौं । यो परियोजनाले यो क्षेत्रको विकासमा सहयोग पुर्याउनेछ ।’
पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले अनुदानभन्दा शून्य प्रतिशत ब्याजमा किसानहरुका लागि लगानि गर्ने सोच बनाएको बताए । अनुदानको दुरुपयोग भएको भन्दै मुख्यमन्त्री शाहले यसको विकल्पमा शून्य ब्याजदरमा किसानहरुलाई ऋण उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।


