धनगढी। प्रदेशका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय सरकारले खटनपटन गर्न सक्नेगरी राख्न खोजिएको भन्दै राष्ट्रिय कर्मचारी संगठनले विरोध जनाएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन सुदूरपश्चिमका अध्यक्ष चन्द्रप्रसाद जोशीले प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय स्तरका ट्रेड युनियनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद घुमाउरो तरिकाले संघीय निजामतीको पद हुनेछ भनेर उल्लेख गरिएको भन्दै त्यसमा असहमती रहेको उल्लेख गरेका छन् ।
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतलाई संघीय निजामती सेवा अन्तरगत राखिएमा उनीहरुको बृत्ति विकासमा अवरोध सिर्जना हुने, उत्प्रेरणा र मनोवल खस्किने, संघीय व्यवस्था नै धरापमा पर्ने भन्दै ध्यानाकर्षण गराइएको छ। जोशीले जारी गरेको विज्ञप्तीमा तीनै तहका कर्मचारीहरुको भावना समेटिने, वृत्ति विकास फराकिलो हुने गरी निजामती सेवा ऐन ल्याउन सरकारसँग माग गरिएको छ ।


