कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोको प्रकोप सुरु भएको छ। करिब एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा डढेलो लागेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज प्रशासनले डढेलोको कारण ७र८ हेक्टर वन क्षेत्र प्रभावित भएको जनाएको छ।
अहिले बस्तीसॅंगै जोडिएको क्षेत्रमा डढेलो लागेको निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए। उनका अनुसार मालुमेला, मंगलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको छ । गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको यसले थप आगो फैलिनसक्ने बताए। अहिले डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमित रुपमा अनुगमन तथा फायरलाइन बनाउने र सफा गर्ने काम गरिरहेको छ। निकुञ्जले पहिलो चरणमा काठे पुल, मचान लगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ।
सकेसम्म डढेलो पनि रोक्ने प्रयास भइरहेको ठगुन्ना बताए। डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेजस्तै भएको छ । शुक्लाफाँटाका अधिकांश क्षेत्रमा सालको वन छ । यतिबेला सालका पातहरू झरेर भुँइ पहेलपुर भएको छ। सुकेका पातबाट डढेलो तीव्र गतिमा फैलिरहेको ठगुन्ना बताउछन्। उनका अनुसार ठुला वन्यजन्तु भाग्न सक्ने भए पनि घस्रिने र साना प्रजातिका जीवहरू डढेलोमा बढी प्रभावित हुन्छन् ।
नियमित रूपमा हरेक वर्ष डढेलो लाग्ने भएकाले ठूला वन्यजन्तुसंगै साना जीवहरूसमेत अभ्यस्त भइसकेकाले धेरै प्रभावित नहुने ठगुन्नाले बताए। निकुञ्जमा चैत दोस्रो साताको वर्षाअघि पनि डढेलो लागेको थियो । तर त्यतिबेला वर्षाले डढेलो नियन्त्रणमा आएको थियो । तर अहिले दिनहुँ गर्मी बढिरहेकाले तत्काल डढेलो नियन्त्रणमा आउने सम्भावना देखिएको छैन्। यस्तो अवस्थामा डढेलो नियन्त्रण निकै चुनौतीपूर्ण हुने देखिन्छ । समयमै डढेलो नियन्त्रण नभए निकुञ्जको ठूलो वनक्षेत्र र वन्यजन्तुसमेत प्रभावित हुने सम्भावना बढेको छ।


