काठमान्डौ। नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरको भारतसँगको सीमा विवाद समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भारतसँगको सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौदेखि सास्ती बेहोर्दै आएको बताउँदै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले संसदमा सिमानामा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक र कर्मचारीहरुमाथि ज्यादती गरिरहेको घटना सुनाए । ‘कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा विद्युत् लाइन विस्तार गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई भारतीय सुरक्षाकर्मीले धाकधम्की गरेका छन् ।
कहिले हुलाकी सडक बनाउँदा अवरोध गरिएको छ, कहिले विद्युत् विस्तारमा अवरोध गरिएको छ । सीमा क्षेत्रमा नेपाली नागरिकहरूले असुरक्षित महसुस गरिरहेका छन् । जनतालाई सुरक्षाको अनुभूति हुने गरी सीमा विवादको समाधान खोजियोस् ।’ त्यसैगरी उनले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादतीको भर्त्सना गर्न समेत माग गरेका छन् । ‘२०७३ फागुन २६ गते गोविन्द गौतमले सहादत प्राप्त गरेको जस्तो त्यहाँको जनताले फेरि भोग्नु नपरोस्,’ लामाले भने ।