कैलाली। कैलालीको घोडाघोडीस्थीत आमफाटा गाउँमा पसेको चितुवाको उद्धार गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिका-८ आमफाटा गाउँमा पसेको वयस्क चितुवाको चितुवाको सकुशल उद्धार गरिएको हो। डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उक्त चितुवाको सकुशल उद्धार गरेको हो।
बिहान गाउँमै घुमिरहेको अवस्थामा स्थानीयले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयहरूको हो हल्ला पछि चितुवा स्थानीयको शौचालय भित्र पसेको थियो। उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए। चितुवा देखिएको क्षेत्रका स्थानीय बासिन्दा त्रसित थिए।
एक साता अघि पनि घोडाघोडी नगरपालिका-२ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए। जनकला शाही र छोरी भूमिका शाही सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए। दुई वटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाइन। इलाका प्रहरी कार्यालय सुखडको टोली खबर पाउना साथ तुरुन्तै जङ्गलमा पुगेका थिए। प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो।