कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर विरोध गरिएको छ । मर्ज र डाउन साइजका नाममा विधि र पद्धति विना गरिएको निर्णय मान्य नहुने भन्दै विरोध गरिएको हो ।
नेकपा एमाले कृष्णपुर नगरकमिटि अध्यक्ष गणेश सिँह ऐरीले सामाजिक सञ्जालमार्फत विधि पद्धति र मापदण्ड विनै गरिएको निर्णय महंगो सावित हुन सक्ने बताएका छन । उनले भौतिक पुर्वाधारको निर्माण लगायतका चौतर्फी विकासका लागी स्थानियले गरेको मेहनत बालुवामा पानी हुने स्थितिको सृजना नगर्न अनुरोध गरेका छन। उनले मर्ज र डाउन साइजका नाममा विद्यालयमा भर्ना गरिएका साना साना बालबालिकाहरुको भविष्य माथी खेलबाँड गर्ने काम नगर्न समेत सुझाएका छन।
नगरपालिकाकाले नगरभित्रका ५ वटा विद्यालयलाई डाउन साइज र मर्ज गर्ने निर्णय गरेको थियो। नगर कार्यपालिकाको चैत २८ गतेको बैठकले नगरपालिका वडा नं.५ को बनदेवी आधारभुत विद्यालय, वडा नं.१ को बालदिपज्योती आधारभुत विद्यालय,सोही वडाको जनज्योती आधारभुत विद्यालय, वडा नं.४ को सिद्धनाथ आधारभुत विद्यालय र वडा नं.२ को सत्यवादी आधारभुत विद्यालयलाई मर्ज र साइज डाउन गर्ने निर्णय गरेको थियो । कक्षा ८ सम्म अध्यापन हुदै आएको बनदेवी आधारभुत विद्यालयलाई कक्षा ५ सम्म, कक्षा ५ सम्म अध्यापन हुदै आईरहेका बालदिपज्योती, जनज्योती एवम् सिद्धनाथलाई कक्षा ३ सम्म र कक्षा ५ सम्म नै अध्यापन हुदै आईरहेको सत्यवादी आधारभुत विद्यालयलाई भने शिशु कक्षासम्म कायम राख्ने नगरपालिकाले निर्णय गरेको थियो। सत्यवादी आधारभुत विद्यालयलाई वडा नं. २ मै रहेको उदय माध्यमिक विद्यालयमा समायोजन गर्ने समेत नगरपालिकाले निर्णय गरेको थियो।