धनगढी। कैलालीको अत्तरियास्थीत क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन। कञ्चनपुरमा रहेको कञ्चन बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरेका हुन।
परिक्षा केन्द्र एक्कासि अन्त सारिएको भन्दै शनिबार उनिहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । यस्तै परिक्षा बहिस्कार गर्नुका साथै क्याम्पस र परिक्षा नियन्त्रण कार्यालयमा अनिश्चित तालाबन्दी गर्ने र चक्काजाम गर्ने विद्यार्थीहरुले बताएका छन्। क्याम्पसका स्ववियु सभापति देव बहादुर साउँदले विगतदेखी आफ्नै क्याम्पसमा हुदै आएको परिक्षा केन्द्र अकस्मात अन्त सारिएकाले तालाबन्दी गरिएको बताए।
उनले अकस्मात हिजो मात्र परिक्षा केन्द्र सारिदा विद्यार्थीहरु अन्यौलमा परेको बताए।परिक्षा केन्द्र सारिएको बारेमा जानकारी समेत बिद्यार्थीलाई छैन् । केही विद्यार्थीहरुको धनगढीमा र केहीको कञ्चनपुरको झलारीमा राख्दा धेरैजसो विद्यार्थीहरुलाई जानकारी नभएको भन्दै अनावश्यक दुख भैरहेको बताए।
४ गते देखी सञ्चालन भैरहेको परिक्षाको केन्द्रका विषयमा १ गते मात्रै जानकारी पाईएको बताउँदै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्न नहुने उनको भनाई छ । क्याम्पसका स्ववियु कोषाध्यक्ष रमेश बोहराले परिक्षा केन्द्र सारिदा करिब २५० भन्दा बढी विद्यार्थीहरुलाई समस्या परेको बताए। उनले आफुहरुले आफ्नै क्याम्पसमा परिक्षा केन्द्र राख्नुपर्ने माग अघि सारेको र त्यसो नभए चरणबद्ध आन्दोलनहरु गर्ने समेत चेतावनी दिएका छन् ।