कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भएको आरोप लागेपछि छानबिनको माग गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकालीको नदीबाट उठ्ने रोयल्टीमा अनियमितता भएको भन्दै भीमदत्त वडा नं. ११ का स्थानीयले छानबिनको माग गरेका हुन् । गत चैत २३ गते उनीहरुले भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका थिए।
उनीहरूले अनियमितता गर्नेमा नगरपालिकाकै कर्मचारीको मिलेमतो रहेको आरोप लगाएका छन् । केही समय अगाडि रोयल्टी उठाउने कर्मचारीले भीमदत्त नगरपालिकाको छापबिना रोयल्टीको बिल काटिएको फेला परेको थियो। उक्त बिल त्यत्तिकै फालिएको अवस्थामा फेला परेको उनीहरुको भनाई छ ।
७ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्रमा सम्बोधन गर्न अल्टिमेटम दिएकोे स्थानीय सुभाष सिंह धामीले बताएका थिए।ज्ञापनपत्रमा उठान गरेका मागहरू एक हप्ताभित्रमा सम्बोधन नगरिएको भनेका छन् ।उनीहरुले पटक पटक आवाज उठाउदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको उनीहरुले बताए। उनीहरुले आज पुनः नगरपालीकाको ध्यानाकर्षण गराएका छन् । एमाले नगर कमिटी अध्यक्ष हिमाल चन्दले राजनीतिक दलहरुले सशक्त पहलकदमीका लागि ज्ञापनपत्र बुझाएको भन्दै उक्त विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।
ज्ञापनपत्रमा‘राजस्व संकलन जस्तो सम्बेदनशील विषयमा स्वयम् स्थानीय जनसमुदायले सरोकारवालाहरु निकायको चरम लापरवाही, उदासिनताले राज्यलाई दैनिक लाखौ रकम हिनामिना भईरहेको विषयमा तत्कालै कडा कदम चाल्न जोडदार माग गर्दा समेत बेवास्ता गरेको कुराको खेद व्यक्त गर्दछौं,’ नगर कमिटीले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ। यो विषयमा महाकाली किनारका सरोकारवाला व्यक्तिले उठान गरेको संघर्षका कार्यक्रममा पार्टीको पूर्ण समर्थन र साथ रहने अध्यक्ष चन्दले बताए।
चालु आर्थिक वर्षमा महाकाली नदीको नदीजन्य पदार्थको उत्खननको लागि रोयल्टी संकलन कार्य ठेक्का प्रकृयाबाट नगराई नगरपालिकाले आफै अमानतमा गरिरहेको छ। उक्त रोयल्टी संकलनमा व्यापक अनियमिता भइरहेको, विना छापका रसिद काट्ने, एउटै रसिद बारम्बार प्रयोग भइरहेको आरोप स्थानीयबासी, जनसरोकारवाला संघ, संस्थाले लगाएका छन्। उक्त विषयमा तत्कालै सम्बन्धित निकायले कुनै कारवाही नगरे एमाले आन्दोलनमा उत्रन बाध्य हुने जानकारी उनले गराएका छन्। उक्त वडामा रहेका कांग्रेस बाहेकका सबै क्रियाशिल राजनीतिक दलका प्रतिनिधिले अनियमितता रोक्न पहलकदमी लिनुपर्ने माग गर्दै नेकपा एमालेको भीमदत्त नगर कमिटीलाई ज्ञापनपत्र समेत दिएका छन्।
नदीबाट उठाइएका सामग्रीको रोयल्टीमा व्यापक लुट मच्चिएको अवस्थामा उक्त रोयल्टी उठाउने कर्मचारीमाथि पनी कारबाही गर्नुपर्ने उनीहरुको भनाई छ । २०६५ सालमा आएको बाढीका कारण पीडित भएकाहरूले रोजगारी नपाएको भन्दै त्यसमा टाठा बाठाहरूको हालीमुहाली रहेको स्थानीयको भनाई छ । तत्कालीन समयमा महाकाली संघर्ष समिति र प्रमुख जिल्ला अधिकारीबीच सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार तटीय क्षेत्रका बाढी पीडित २४ परिवारमध्ये एक एक जनालाई रोजगारी दिने भन्ने थियो । तर, त्यो सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको स्थानियहरूको गुनासो छ। रोयल्टीबाट उठेको ४० प्रतिशत रकम ११ नम्बर वडाको जोखिम, न्यूनीकरण तथा विकासमा खर्च हुनुपर्ने उनीहरूको माग रहेको छ।


