धनगढी। ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ नयाँ वर्षमा हुने जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन २०२३ को तयारी पुरा भएको छ।
नयाँ वर्ष २०८० को अवसरमा धनगढी जेसिजले आयोजना गर्न लागेको म्याराथनको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।धनगढीमा हरेक वर्ष वैशाख १ गतेका दिन आयोजना हुन लागेको म्याराथनको यो नवौँ संस्करण हो ।
प्रतियोगिताका संयोजक मनिस कुँवरले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता हुन लागेको बताए । धनगढी रंगशालाबाट सुरु हुने दौड प्रतियोगितामा म्याराथनको खुला दौडका अन्तरगत २१।१ किमी दौडमा प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार तिन सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।
यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । महिला तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिए ।
यस्तै टाई साइकल रेस पनि गरिने जानकारी दिएका छन् । टाई साइकल रेसमा सहभागीलाई सम्मान सहित पुरस्कार दिइने जनाएको छ ।जेसिजका अध्यक्ष मोहनराज ओझाले प्रतियोगितामा धावक, नेपाल आर्मी, नेपाल प्रहरी, शशस्त्र प्रहरी लगायत २ सय ५० जनाको नाम दर्ता भइसकेको र स्थानीयहरुको पनि सहभागिता गराउने क्रम जारी रहेको बताए ।
प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट समुदघाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष ओझाले बताए । जेसिजका पूर्वअध्यक्ष पदमविक्रम सिंहले नगरको शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा सुधारका लागि धनगढी दौडिन्छ प्रतियोगिता हरेक वर्ष आयोजना गरिन लागेको बताए ।


