कैलाली। कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा मृत्यु भएको नवजात शिशुसहित सुत्केरी महिलाको शव ३ दिनदेखी उठाइएको छैन् । गोदावरी नगरपालिका वडा नंम्बर २ कडायत टोलकी लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमवार बिहान अस्पतालमा मृत्यु भएको थियो।
आईतबार बिहान सुत्केरीका लागी आएकी भट्टराईको सोमबार बिहान मृत्यु भएको थियो। तर अस्पतालमा रहेको शिशुसहित सुत्केरीको शव घटना भएको तीन दिनसम्म पनि उठ्न सकेको छैन्। घटना भएपछि परिवारका सदस्यले चिकित्सकको कमजोरीले विरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गर्दै सेवा प्रवाह ठप्प पारेका थिए। अझैपनी चिकित्सकको लापरबाहीले शिशुसहित सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् । अस्पताल प्रशासन सँग छलफल भएपनि छलफल बमोजिमका मागहरु पुरा नगरेकाले पिडित पक्षले शव उठाउन दिएको छैन। पीडित पक्ष र अस्पताल प्रशासनको पटक पटक छलफल भएको छ। उनीहरुको बिचमा सहमति भएको छैन।
मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानविन भएर दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताएका छन। उनले अस्पतालको लापरबाहीका कारण शिशु र श्रीमतीको ज्यान गएको बताउदै घटनाको निष्पक्ष छानविन, दोषीलाई कारबाही र उचित क्षतिपुर्तिको माग गरेका छन्। उनले आफ्नो ५/६ वर्षको बालकको लालनपालन र पठनपाठनको पनि व्यवस्था मिलाईनुपर्ने बताए। यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नर बहादुर मौनीले घटनाको छानविनका लागी समिति गठन गरिएको बताए। उनले घटनाको निष्पक्ष छानविन हुने र दोषीलाई कारबाही गरिने समेत बताए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ। जसमा धनगढी स्थित सेती प्रादेशीक अस्पतालका दुई जना डाक्टरहरु, क्षेत्रिय स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पिडित पक्षबाट रहेको उनले बताए । उक्त समितिले प्रारम्भीक अनुसन्धान गरिरहेको उनले बताए। पिडितलाई क्षतिपुर्तिको माग गर्दै स्थानियहरुले मंगलबार आन्दोलन गरेका थिए । अत्तरिया देखी कञ्चनपुर जाने राजमार्ग अवरुद्ध गर्नुका साथै नाराबाजी गरेर स्थानियहरुले आन्दोलन चर्काएका थिए।
आन्दोलित स्थानिय माथी प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। उनका अनुसार प्रहरीले अवरुद्ध राजमार्ग खोल्ने प्रयास गर्दा स्थानियहरुले ढुंगामुडा प्रहार गरेका थिए। स्थानियहरुले ढुंगामुडा प्रहार गरेसँगै प्रहरीले लाठिचार्ज सुरु गरेको थियो भने आन्दोलनकारीमाथी अश्रुग्यास प्रहार गरेको थियो। अश्रुग्यास प्रहार पछि आन्दोलनकारीहरु तितरबितर हुँदा राजमार्ग भने सुचारु भएको छ। पुन आन्दोलनकारीहरु कैलालीको मालाखेतीमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि गोदावरी नगरपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयहरु नगरपालिकामा धर्ना दिन पुगेका छन्।


