कञ्चनपुर। नयाँ वर्ष बिसु मनाउन घर फर्किरहेका चार जना नेपाली कामदार बाटोमै लुटिएका छन्। उनीहरू यात्राका क्रममा भारतमै लुटिएका हुन् । सोमबार हल्द्वानीबाट घर फर्किन लागेका सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली रहेका छन्।
उनीहरुबाट ४५ हजार भारु र चार थान मोबाइल लुटिएको प्रहरीले जनाएको छ। कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरुलाई भारत उत्तराखण्डको हल्द्वानीमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ लुटिएको हो । हल्द्वानीबाट बनबासा आउने बसमा एक महिलाले चिसो पेय पदार्थ पिउन दिएको पीडितहरुले बताए। उक्त पेय पदार्थ पिएपछि चारैजना बेहोस भएका थिए।
‘चारै जना सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिएका हुन्,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले भने, ‘सबैजना रित्तो हात नाकामा पुगेका थिए ।’ उनीहरुलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेको हो । अस्पतालमा उपचारपछि मंगलबार निको भएर उनहरु घरतर्फ लागेका छन् । यात्राका क्रममा आएका दुई भारतीय महिलाले जुस पिउन दिएको पीडितले बताए । जुस पिउनेबितिक्कै सबै बेहोस भए । होस आउँदा पैसा र मोबाइल केही पनि नभएको उनीहरुले बताए। बेखर्ची बनेका उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरले बससँग समन्वय गरेर गन्तव्यसम्म पठाउने तयारी गरेको छ।