कञ्चनपुर। कञ्चनपुरका किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या भएको छ। खेतमा काटिएको गहुँ थ्रेसिङ गर्ने ट्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य लिन थालेपछि किसान समस्यामा परेका हुन्।
डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको किसानले गुनासो गरेका छन्। ट्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका कारण देखाउँदै चर्को रकम लिन थालेको उनीहरुको भनाई छ। गहुँ थ्रेसिङ गरेबापत ट्याक्टर व्यवसायीले प्रतिघण्टा रु ३ हजारदेखि रु ३ हजार ३ सयसम्म रकम लिन थालेका छन् ।
कञ्चनपुरमा ३१ हजार २ सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हुने गरेको तथ्याङ्क रहेको छ। स्थानीय तहले भने ट्र्याक्टर व्यवसायीले लिन थालेको मूल्य नियमन गर्न दर रेट निर्धारण गरेका छन्। शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐरका अनुसार चैत २४ गते देखि लागू हुनेगरी प्रतिघण्टा गहुँ थ्रेसिङ गरेको २ हजार ५ सय रकम लिन पाउने गरी दर रेट निर्धारण गरेको बताए। यस्तै बेदकोट नगरपालिकाले पनि गहुँ थ्रेसिङका लागि प्रतिघण्टा रु २ हजार ५ सय दररेट निर्धारण गरेको छ ।
कृष्णपुर नगरपालिकाले भने गहुँ थ्रेसिङ गरेबापत रु दुई हजार दुई सय रकम लिन पाउने गरी दररेट निर्धारण गरेको छ। आधा किसानले गहुँबाली भित्र्याइसकेपछि स्थानीय तहले दररेट निर्धारण गरेको किसान कालुराम चौधरीले बताए । स्थानीय तहले किसान,ट्र्याक्टर व्यवसायी लगायतसँग कुनै छलफल नै नगरी दररेट निर्धारण गरेको उनले बताए । स्थानीय तहले निर्धारण गरेको दररेट ट्र्याक्टर व्यवसायीले लागू नगरेको उनको भनाई छ।स्थानीय किसान मदन बूढाले अनुगमन गर्ने कार्य नहुँदा ट्र्याक्टर व्यवसायीले आफूखुसी किसानबाट चर्को रकम लिन थालेको बताए। गहुँ उत्पादन गर्दा जोताइ, सिँचाइ, मलखाद र थ्रेसिङ गरी लागतखर्च अधिक हुने हूँदा लागत खर्च नै नउठ्ने बाध्यता रहेको उनले बताएका छन्।