बैतडी। बैतडीको पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले नगरप्रमुख र उपप्रमुख विरुद्ध मुद्दा हालेका छन् । उनले नगरप्रमुख दिपकबहादुर बम र उपप्रमुख मिना धानुकविरुद्ध पाटन उच्च अदालतमा मुद्धा हालेका हुन ।
उनले कार्यालयमा नगरप्रमुख र उपप्रमुखले काम गर्ने वातावरण विथोलेकाले कामकाज गर्ने वातावरण मिलाउने आदेश माग गर्दै नगरप्रमुख, उपप्रमुख र संघीय सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको बताएका छन । कर्मचारी भर्नाका विषयमा विवाद झिकेर नगरपालिकामा बस्ने वातावरण विगारेको उनले आरोप लगाएका छन ।
गत फागुनमा रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा नेपालीले मनोमानी गरेको आरोप लागेको थियो। तर करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको नेपालीले दाबी गर्दै आएका छन्।
उपप्रमुख धानुकले स्थानीय केटा परिचालन गरी डर धम्की देखाएकाले सुरक्षाको माग गर्दै प्रशासकीय प्रमुख नेपाली भागेर जिल्ला सदरमुकाम हुँदै धनगढी र त्यसपछि काठमाडौं गएका थिए। विशेष अदालत पाटनमा मुद्दा दर्ता गरेका नेपालीले आफ्नो पक्षमा अदालतले निर्णय गरेको बताए। उनले मुद्दा किनारा नलागुञ्जेलसम्म कामकाजमा फर्कन आदेश दिएको बताए। मैलै हालेको मुद्दामा अदालतले मुद्दाको किनारा नलागुञ्जेलसम्म कामकाज गर्न दिनू भनेर विपक्षीको नाममा आदेश जारी गरेको उनले बताए । उनले मुद्दा किनारा नलागुञ्जेलसम्म कामकाजमा फर्कन आदेश दिएकाले तत्कालै काठमाडौंबाट कार्यक्षेत्रमा फर्किने तयारी गरेको जानकारी दिए ।


