अछाम। अछामस्थित कर्णाली नदीमा आमाछोरा मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–४ की २२ वर्षीया कमला कुमारी बुढा र उनका ५ महिने शिशु छोरा कर्णाली नदीको किनारमा मृत अवस्थामा भेटिएका छन्।
कमला १६ चैत्रदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीय ज्ञानमन्दिर मेडिकलमा उपचारका लागि जान्छुँ भनेर छोरासहित घरबाट हिँडेकी उनी त्यसपछि बेपत्ता थिइन्। हराएको ९ दिनपछि अछाम प्रहरी आमाछोराको शव कर्णाली नदीको किनारमा फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् धर्मबहादुर साउँद र मृतक कमलाबीच पारिवारिक खटपट रहेको खुलेको छ। मृत्युको एकिन कारण भने खुल्न सकेको छैन। श्रीमान् धर्मबहादुर प्रहरीको निगरानीमा रहेका छन्।
प्रहरी निरीक्षक कैलाश बिष्टले प्रारम्भिक रुपमा घटना प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको जस्तो देखिएको बताए। अहिले हामी शव पोष्टमार्टमका लागि अस्पताल लगीएको र परिवारसँग सोधपुछ हुने बताए । पोष्टमार्टम रिपोर्टले घटनाबारे थप खुल्ने उनले बताए । शव भेटिएको स्थानमा ४ जना प्रहरी परिचालन गरिएका छन्। शव भेटिएको त्रिवेणी भन्ने ठाउँ सो प्रहरी चौकीबाट ६ घण्टाको दुरीमा छ।
त्यसपछि घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको प्रहरी टोली पनि घटनास्थलमा खटिएको थियो। घटनास्थलको मुचुल्का बनाएर प्रहरी शव पोष्टमार्टमका लागि मंगलसेन ल्याइएको छ। भौगोलिक विकटता र सदरमुकामबाट घटनास्थल टाढा हुँदा सो टोलीसँग सम्पर्क हुन नसकेको बताइएको छ।

