धनगढी : कैलालीमा सिमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । सिमा क्षेत्रको तस्करी नियन्त्रण हरेक जिल्ला प्रमुख तथा शुरक्षा निकाय प्रमुखहरुको एजेण्डा बन्ने गरेपनि कार्यान्वयन फितलो हुँदा कैलालीका बिभिन्न सिमा नाकाबाट अबैध समान भित्रिने क्रम जारी छ । जिल्लाको मुख्य नाका त्रिनगर नाकाबाटै अबैध समान दिनहुँ भित्रिने गरेको छ । यस संगै खुला सिमानाका बाट अबैध समान आउने क्रम बढ्दो छ ।
चैत १९ गते जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत कैलाली गाउँ राजपुरमा रहेको अस्थाई प्रहरी पोष्टले भन्सार छलीका अवैध सामान बरामद गर्यो। त्यो दिन प्रहरीले सुपर पावर सुर्ती ५० थान, आन्टी सुपारी १ सय ५० थान बरामद गर्यो। त्यती मात्रै हैन यही चैत १७ गते पनि राजपुर प्रहरी विटमा नै अवैध ४५ थान विडी, १७ थान गुडपट्टी, ३५ थान ललिपप लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
यस्ता त कती समातिएका हुन्छन चौराहदेखि राजपुर, अत्तरियासम्म। त्रिनगर भन्सारमा सुरुमा सशस्त्र प्रहरी रहेको हुन्छ। त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालय अलि अगाडि आउने हो भने सशस्त्र प्रहरीको विट छ। ती विटहरुमा सामान चेकजाँच नहुने पनि होइन हुन्छ। प्रश्न के उठ्छ भने भन्सारमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरीका विटहरुलाई छलेर राजपुरमा अवैध सामान कसरी पुग्छ । ती सामानहरुमा फेरि भारतबाट भन्सार तिरेर सामानहरु पनि ल्याइएको हुन्छ। त्यही भन्सार तिरेर ल्याइएको सामानसँग कसरी आउँछ अवैध मानिएका विडी, सुर्ती, गुट्का, पानपराग जस्ता सामान ?
सोही प्रश्नको जवाफमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले भने, ‘चेकिङ्ग भइरहेकै हुन्छ, पोकाहरुमा लुकाएर भन्सार छली भइहाल्छ। अवैध मानिएका सामानहरुमा हामीले निगरानी बढाएका छौ’ भन्सारबाट सार्वजनिक सवारी साधनमा लुकाएर अवैध सामान धनगढी पुगेको हुन्छ। यस्तो अवस्थामा भन्सारमा रहेका सुरक्षा निकायको सक्रियतामा प्रश्न उठ्ने धनगढी ४ का स्थानीय रमेश ठकुरीले बताए।
सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले भने त्यस विषयमा अनविज्ञ रहेको बताएको छ। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले यसबारेमा आफूलाई केही जानकारी नभएको बताएका छन्। उनले भने, ‘मलाई अहिले त्यसबारेमा जानकारी छैन, म त्यसबारेमा बुझ्ने छु’ । सिमा सुरक्षाको जिम्मा पाएको सुरक्षा निकायले यो विषयमा अनविज्ञ रहनु गम्भीर विषय रहेको बताइएको छ। कैलालीको खुल्ला सिमा क्षेत्रमा सशस्त्र प्रहरीका विओपीहरु पनि ठाउँ ठाउँमा रहेका छन्। तर, भन्सार छली गरि ल्याइने समस्याको समाधान हुन नसक्दा सुरक्षा निकायको सक्रियतामा शंका गर्न सकिन्छ।


