कैलाली। असन्तुष्ट नेता भीम रावलबारे निर्णय लिन एमालेले बनाएको वार्ता टोलीले तीन दिनसम्म काम थालेको छैन । भेटघाटको टुंगो नलागेको नेताहरूले बताएका छन् । १८ चैतमा बसेको एमाले सचिवालय बैठकले नेता रावलसँग वार्ता र छलफल गरेर विवादको समाधान खोज्ने वा कारबाही प्रक्रिया अघि बढाउन उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा टोली गठन गरेको थियो ।
उक्त टोलीमा सुदूरपश्चिम इन्चार्जसमेत रहेको पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सदस्य छन् । ‘भीम कमरेडलाई भेटेर छलफल गर्ने पार्टीको निर्णय हो,’ वार्ता टोलीका सदस्य थापाले भने, ‘विविध कारणले भेट ढिलो भएको छ । छिट्टै बसेर उहाँका कुरा सुन्छौ र समस्या समाधान गर्छौं ।’ उनका अनुसार वार्ता टोलीका संयोजक पौडेलकी नातिनी कोभिड संक्रमित भएपछि रावलसँग भेट रोकिएको हो । पौडेलको परीक्षण भई रिपोर्ट नेगेटिभ आएलगत्तै छलफलमा बस्ने थापाले बताए । ‘रिपोर्ट नेगेटिभ नआए छलफल केही दिन पर सर्नसक्छ,’ उनले भने ।
मिसन ग्रासरुढ अभियानका क्रममा उपाध्यक्ष पौडेल अछाम जाँदा रावल जिल्लामै बसेनन् । उनको आलोचना भएपछि समर्थकले एमाले सभामा कुर्सीसमेत फालेका थिए । उपाध्यक्ष पौडेलले अछाम र डोटीका पार्टी कार्यक्रममा रावलको चर्को आलोचना गरेपछि उनले धनगढीमा पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका थिए ।नेता रावलको एमालेको १० औँ महाधिवेशनपछि एमालेको नेतृत्वमा छैनन् । सौराहमा भएको महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेर पराजित रावल केन्द्रीय सदस्यमा निर्वाचित भए पनि स्वीकार गरेनन् । पार्टीले सल्लाहकार परिषद् सदस्य मनोनीत गरेको थियो । त्यो पद पनि अस्वीकार गरेपछि उनी पार्टी नेतृत्वको सम्पर्कमा नरहेको भन्दै अध्यक्ष ओलीले सार्वजनिक रूपमै आलोचना गरेका थिए ।
नवौँ महाधिवेशनदेखि तत्कालीन एमाले नेता माधवकुमार नेपालनिकट रहेका रावल पार्टी विभाजनको संघारमा १०बुँदे सहमति गरेर एमालेमै बसेका थिए । तर, सहमति अनुसार सुदूरपश्चिम इन्चार्ज नदिइएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । उनको असन्तुष्टि गत ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अछाम १ बाट टिकट नपाएपछि चुलिएको थियो । उनी पार्टीका उम्मेदवारको प्रचारप्रसारमा समेत नगएको संस्थापन पक्षले आरोप लगाएको छ । मौन अवधि सुरु भएपछि मतदानका लागि मात्र रावल अछाम पुगेका थिए ।
एमाले उपाध्यक्ष पौडेलले पार्टीको संगठित सदस्यले जति पनि दायित्व पूरा नगरेर पार्टी नीति विपरीत चलेको भन्दै सार्वजनिक रूपमै आरोप लगाएका थिए । उनले पनि नेतृत्वले धकेलिरहे पार्टी छाड्ने चेतावनीसमेत दिइसकेका छन् । ‘आफैँले ५० वर्ष योगदान गरेको एमाले छाड्ने इच्छा छैन । तर, नेतृत्वले यसरी नै धकेलिरहे नयाँ निर्णय लिन्छु,’ उनले भनेका छन् । नेकपा एसका अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालले उनी एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्ने सार्वजनिक मञ्चबाटै चर्चा गरिरहेका छन् । एमाले छाडेर रावल आफ्ना पूर्व नेता नेपाल नेतृत्वको एसमा जाने तयारीमा लागेका हुन् ? भन्ने प्रश्नमा रावलनिकट एक नेताले भने, ‘हैन । उहाँ सकेसम्म एमाले छाड्ने पक्षमा हुनुहुन्न । छाड्नै परे किन माधव नेपालको पार्टीमा जाने ? आफ्नै पार्टी बनाउने नि ।’शिलापत्रबाट