काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गर्दैछ । सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ।
जसमा सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समावेश छन् ।राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने उपलब्धीमा दाबी गरिएको छ। त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ।
प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् । यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ।
अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको उल्लेख छ ।सरकार सबैसँग सल्लाह, छलफल र सहकार्य गर्दै तथा सबैको पृष्ठपोषण लिँदै मुलूकलाई शान्ति, प्रगति, स्थिरता र अग्रगमनको बाटोमा अघि बढाउन प्रतिबद्धता जनाएको छ। जनताका आशा, अपेक्षा र विश्वासलाई यथाशीघ्र मूर्त रूप दिन सरकार क्रियाशील रहेको भन्दै सबै राजनैतिक नेतृत्व तथा सार्वजनिक प्रशासकहरूमा विकासमैत्री, सेवाग्राहीमैत्री र लगानीमैत्री मानसिकता विकास गर्न आवश्यक देखिएको उल्लेख गरेका छन्।हेर्नुहोस् पूर्णपाठ नेपाल-सरकारका-१००-दिनमा-भएका-प्रमुख-उपलब्धिहरु