तनहुँ। तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थविद् डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर डा.वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन्। वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । वाग्ले केही दिनअघि मात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए। वाग्लेको मनोनयनमा रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए।
यसअघि उक्त क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट गोविन्द भट्टराई, नेकपा एमालेको तर्फबाट पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले उम्मेदवारी दर्ता गराइसकेका छन्। गत मंसिरमा भएको निर्वाचन निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ। उक्त क्षेत्रमा वैशाख १० गतेका लागि उपनिर्वाचन तोकिएको छ ।