बैतडी। बैतडीमा एक वडा अध्यक्ष माथि कुटपिट भएको छ।बैतडीको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथी कार्यालय सहयोगीले कुटपिट गरेका हुन्। वडाअध्यक्ष नेगीमाथी सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले कुटपिट गरेको बताइएको छ।
बिहिबार राती ९ बजेतिर वडा नं १ कै जिरो पोइन्टमा रहेको बजारको एक पसलमा बुवाछोराले वडाअध्यक्षलाई कुटेका हुन् । कुटपिट गर्दा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको छ । कुटपिटबाट वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाँचिएका बताइएको छ । कुटपिट गर्ने बुवाछोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले वडाकै विषयमा विवाद हुँदा झडप भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । ।


