धनगढी। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ। एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ।
सुदूरपश्चिममा २ सय ८ वटा परीक्षा केन्द्र रहेको निर्देशनालयले जानकारी दिएको छ। शिक्षा विकास निर्देशनालय दीपायल डोटीका निर्देशक दुर्गादत्त विष्टले एसईईका लागि आवश्यक सम्पूर्ण तयारी र परिक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडाई बनाइएको बताए। प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार तीन सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।
प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी छन्। प्रदेशमा जम्मा २ सय ८ परिक्षा केन्द्रहरु रहेका छन्। सबैभन्दा बढी ५३ परिक्षा केन्द्र रहेको कैलालीमा १७ हजार सात सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा दुई हजार ६ सय ८९ विद्यार्थी छन्। १२ केन्द्र रहेको डोटीमा तीन हजार सात सय ७२ विद्यार्थी, १५ केन्द्र रहेको बाजुरामा तीन हजार एक सय ६३ विद्यार्थी सहभागि हुने छन भने १८ केन्द्र रहेको बझाङमा चार हजार चार सय विद्यार्थी सहभागि संख्या रहेको निर्देशनालयले जनाएको छ।
अछाममा पाँच हजार ७३ विद्यार्थी रहेकोमा २४ परिक्षा केन्द्र, दार्चुलामा दुई हजार नौ सय ७१ विद्यार्थी रहेका छन भने १६ परिक्षा केन्द्र कायम गरिएको छ। बैतडीमा पाँच हजार तीन सय ५१ परिक्षार्थी रहेकोमा २५ परिक्षा केन्द्र र कञ्चनपुरमा १० हजार दुई सय १५ परिक्षार्थी रहेकोमा ३३ परिक्षा केन्द्र कायम गरिएको छ। क्रमशः नियमिततर्फ कैलालीमा १६ हजार ६ सय ३०, ग्रेडतर्फ सात सय दुई र प्राविधिकतर्फ चार सय १० परिक्षार्थी रहेको निर्देशनालयले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन्। आवेदन भरेकामध्ये चार लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी छन्। सबै परीक्षा केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याएको छ। विद्यार्थीलाई कुनै डरत्रास नलिइ ढुक्क भएर परीक्षा दिन परीक्षा नियन्त्रक श्रेष्ठले आग्रह गरेका छन्। परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ। नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन्।


