कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बन्ने फोहर व्यवस्थापन केन्द्रका लागि रुख काट्न सुरु गरिएको छ। आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माणका लागी ८ सय १३ रुख काट्न सुरु गरिएको हो।
सामुदायिक वनको ४.९९ हेक्टर क्षेत्रफलमा निर्माण हुने एकीकृत फोहर व्यवस्थापन केन्द्रका लागि उक्त रुख बैशाख १५ गतेभित्रे काटीसक्ने लक्ष्य लिइएको बताइएको छ। बुधबार नगर प्रमुख रणबहादुर महरा, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्टलगायतको सहभागितामा रमण केएसजेभी कैलालीले रुख कटानको काम सुरु गरिएको छ।
डिभिजन वन कार्यालय कञ्चनपुरले आदेश नदिदा रोकिएको फोहर व्यवस्थापन केन्द्र रुख कटानको कामपछि अब निरन्तर अघि बढ्ने बताइएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले कटानीका लागी फागुन २६ गते आदेश दिएको थियो। तोकिएकै समयमा रुख कटान गरी फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढाउन नगर प्रमुख महराले निर्देशन दिएका छन्। उनले नगरपालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताए । फोहर व्यवस्थापन केन्द्र निर्माणको गत वैशाखमा २६ करोड ७७ लाखमा ठेक्का सम्झौता रमण केएसजेभी कैलाली र सहरी विकास आयोजना कार्यान्वयन इकाइबीच भएको थियो।
निर्माण सक्ने गरी सम्झौता २० महिना रहेकोमा रुख कटानी आदेश पाउन करिब एक बर्ष लागेकाले समयमै नसकिने हुँदा तीब्र गतिले निर्माण कार्य थाल्ने निर्माण कम्पनीका इन्जिनियर अमित यादवले बताए । फोहर व्यवस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहर व्यवस्थापन गर्न सकिने बताइएको छ। मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहर व्यवस्थापन केन्द्र निर्माण गरिने बताइएको छ । आधुनिक तथा व्यवस्थित प्रविधिको प्रयोग गरेर फोहर व्यवस्थापन केन्द्र बन्ने बताइएको छ । फोहर व्यवस्थापन केन्द्रमा लगिएको फोहरलाइ कुहिने र नकुहिने फोहरलाई छुट्याएर राखिनेछ । जसबाट फोहरबाटै जैविक मल र ग्याँस उत्पादन समेत गरिने र नकुहिने फोहर कबाडमा बिक्रि गरिने र खाडलमा पुरिने बताए। संकलन गरिएको फोहरलाई बन्द गाडीमा व्यवस्थापन केन्द्रसम्म लगिने ब्यवस्था गरिने योजना रहेको बताइएको छ ।