काठमाडौँ। सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो ।
बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन्।सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो।
मंगलबार बिहानमात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए। छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए । यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने भनिएपनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन। यस्तै जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा पनि सहमति जुट्न नसकेको बताइएको छ ।