कञ्चनपुर। कञ्चनपुरस्थीत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा रेबिजको त्रास बढेको छ । गाईबस्तुमा एकपछि अर्को गरी रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो । खासगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा स्यालको टोकाइबाट गाईबस्तु मरेपछि स्थानीय त्रसित भएका हुन् ।
भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बोहराले रेबिज लागेर बाख्रा मरेपछि स्थानीयमा त्रास बढेको बताए । बाख्रा र अन्य शंकास्पद गाईबस्तुको सम्पर्कमा आएकाहरूलाई पनि खोप लगाउन पहल भइरहेको उनले बताए । निकुञ्जबाट आउने स्यालले टोकेर धेरै गाईबस्तुमा रेबिज देखिन सक्ने आशंका छ । उनले ३६ गाईबस्तुलाई खोप लगाइरहेको उनले बताए । स्यालको टोकाइबाट भीमदत्त नगरपालिका र बेदकोटमा केही चौपायाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन् ।
शनिबार मात्रै भीमदत्त नगरपालिका १३ बडैपुरमा स्यालले टोकेर एक बाख्रा मरेको थियो । उक्त बाख्राको परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका प्रमुख डा। नरेश जोशीले बताए । यसअघि भीमदत्त नगरपालिका ३ तिलकपुर र बेदकोट नगरपालिका १ चम्फापुरमा रेबिजबाट गाईबस्तुको मृत्यु भएको थियो। जोशीले दोधारा चाँदनीमा पनि केही गाईबस्तु मरेको जानकारी आएको र ढिलो खबर आएकाले परीक्षण हुन नसकेको बताए। रेबिज देखिएको स्थानका गाईबस्तुमा खोप लगाइँदै छ । बडैपुरमा ३६ गाईबस्तुमा खोप लगाइएको पशुविज्ञ अस्पताल महेन्द्रनगरका प्रमुख डाक्टर पानसिंह ठगुन्नाले बताए । बडैपुर, चम्फापुर र तिलकपुरका गाईबस्तुलाई खोप लगाइँने उनले बताए।