काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ। सरकार सञ्चालन र मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छन् ।प्रधानमन्त्री दाहालले ६ चैतमै विश्वासको मत लिए पनि एक साता बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । यसबीचमा प्रधानमन्त्री दाहालले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति खोजिने र बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।