जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एकिकृत समाजवादी पार्टीले नेकपा नछोडेका कारण एकता प्रक्रिया रोकिएको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी नेकपा तर्फ नफर्किने भएका कारण एकिकृत समाजवादी पार्टीले नेकपा छोडे एकताका लागी समस्या नरहेको बताएका हुन् ।
जनता समाजवादी पार्टीपनि कम्युनिस्ट आन्दोलनबाटै आएको बताउँदै यादवले अहिले कम्युनिस्ट त्यागेर समाजवाद तर्फ उन्मुख भएको दावी गरे । अब जनता समाजवादी पार्टी समाजवाद तर्फ मात्रै केन्द्रित भएका कारण नेकपा एकिकृत समाजवादीलेपनि नेकपा छोडेर एकिकृत समाजवादी मात्रै रोजे एकता हुने उनको भनाई थियो । नेता कार्यक्रताहरुका बिच अन्य सबै तालमेल मिलेपनि कम्युनिस्ट छोड्ने बिषयमा नेकपा एकिकृत समाजवादीले निर्णय लिन नसकेका कारण एकता रोकिएको उनको भनाई छ ।
अध्यक्ष यादवले अहिलेको गठबन्धनले मुर्त रुप लिएको बताए । नेकपा एमाले सहितको गठबन्धनका बेला सरकार कुन दिशामा अगाडी बढ्ने अन्यौल भएका कारण सरकारमा सहभागी नभएको बताउँदै यादवले अब जसपापनि सरकारमा सहभागी हुने बताए । एक साताभित्र मन्त्रीपरिषद बिस्तार हुने दावी गर्दै यादवले सबैको सल्लाह बमोजिम मन्त्रीको सिफारिश गर्ने बताए ।
यादवले बारा क्षेत्र २ बाट उप निर्वाचन लड्ने बारे छलफल गरिरहेको बताए । चुनावलाई फुटबल गेमको संज्ञा दिदै उनले एक पटक गोल नभए अर्को पटक प्रयास गर्नुपर्ने बताएका थिए । गठबन्धन र पार्टीको निर्णयपछि आधिकारिक रुपमा आफु उमेदवार बन्ने घोषणा गर्ने उनले बताए ।


