कैलाली। कैलालीमा क्षयरोगका ७ सय ५३ जना बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका ७५३ बिरामी पहिचान भएका हुन् । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा कैलालीमा एक हजार ४ सय ३३ जनामा क्षयरोगका बिरामीको पहिचान भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।
दैनिक २ देखि ३ जनामा क्षयरोग देखिने गरेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार कैलालीमा यस अर्थिक बर्षमा २३ जना क्षयरोगीको मृत्यु भएको छ। अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ५६ जना क्षयरोगीको मृत्यु भएको थियो । क्षयरोगीको उपचारका लागि जिल्लामा ६८ उपचार केन्द्र छन्। अझै पनि क्षयरोगका सबै बिरामीको पहिचान गर्न नसकेको उनले बताए। क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ’ कार्यालय प्रमुख धामीले भने, ‘समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन्।
सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको छ। ‘उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ’ उनले भने, ‘सो तथ्यांकलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ । क्षयरोगी पहिचानका लागि कार्यालयले नेपाल–भारत सीमानामा समेत खकार संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको कार्यालय प्रमुख धामीले बताए। ‘नेपाल–भारत सीमानामा समेत क्षयरोग परीक्षण गर्ने गरेका छौँ’, उनले भने। लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने उनले बताए।
‘नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ’, उनले भने। चिकित्सकका अनुसार क्षयरोगले शरीरका नङ र रौँ बाहेक सबै अङगमा आक्रमण गर्छ । क्षयरोग लागेको भएमा सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ । कमजोरी महसुस हुन थाल्छ । ‘मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ’, प्रमुख धामीले भने। उनका अनुसार क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ। मुख सुक्ने गर्छ।
खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ। क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ । क्षयरोग अत्यन्त जटिलखालको सरुवा रोग हो । यसले बालबालिकादेखि सबै उमेरकालाई, घरमा, स्कूलमा, कामगर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्न सक्दछ। चिकित्सकका अनुसार क्षयरोगबाट बच्नका लागि सूर्ति मिसाएर बनेका कुनैपनि पदार्थ सेवन नगर्ने रहेका छन्। आज शुक्रबार मार्च २४ को दिन विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न नारा सहित कार्यक्रममनाईदै छ। नेपालमा पनि ‘हो हामी क्षयरोगको अन्त्य गछौँ’ भन्ने मूल नाराका साथ क्षयरोग दिवस मनाइदै छ।

