धनगढी। धनगढीस्थीत मालपोत कार्यालय कैलालीको बिद्युत लाइन काटिएको छ । ३ महिनाभन्दा बढीको महशुल नतिरेको भन्दै मालपोत कार्यालय कैलालीको बिद्युत लाइन काटीएको नेपाल बिद्युत प्राधिकरण धनगढीले जनाएको छ।
प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले निश्चित समय भित्र महशुल नतिर्ने ग्राहको लाइन काटिएको बताए । उनले २ महिना भन्दा बढी समय भैसकेका ग्राहकको लाइने काट्ने भनेर केन्द्रबाट नै निर्देशन भए अनुसार दैनिक लाईन काट्ने गरिएको बताए । उनले भने, अहिले सो समयमा बिद्युत महसुल नतिर्ने ग्राहको लाइन काट्ने गरिए अनुसार मालपोत कार्यालय कैलालीको पनी लाईन काटिएको हो।
उनले निश्चित समयमा महशुल तिर्ने शर्तमा मालपोत कार्यालयले पत्र लेखेर पठाए लाइन जोडिने बताएका छन् । महशुल नबुझाएको भन्दै केही महिना अघि पनि प्राधिकरणले मालपोत कार्यालयको विद्युत लाइन काटेको थियो ।
प्राधिकरणको धनगढी वितरण केन्द्रले विहान ११ बजेतिर विद्युत लाइन काटेको जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले बताए । मालपोत कार्यालय भवनका दुईवटा मिटर मध्ये माथिल्लो तलाको लाइन काटिएको उनले बताए । उनका अनुसार विद्युतलाई २३ हजार विद्युत महशुल बुझाउनुपर्ने छ । बजेट नै नभएका कारण महशुल बुझाउन बाँकी रहेको कार्यालय प्रमुख केसीले बताए। लाइन काटिएपछि बजेटको व्यवस्था नहुन्जेलसम्मका लागि विद्युत प्राधिकरणलाई लाइन जोडिदिन अनुरोध गरिएको उनले बताए । उनले कार्यालयसंग बजेट नरहेको बताए ।
बजेट अभावमा महशुल बुझाउन नसकिएको भन्दै कार्यालय प्रमुख केसीले त्यसका लागि धनगढी उपमहानगरसहित विभिन्न स्थानीय तहसंग बजेट व्यवस्थापनका लागि माग गरेको बताए । विद्युत लाइन काटिएपछि मालपोत कार्यालय पुगेका ग्राहकलाई समस्या भएको छ। मालपोत कार्यालयमा कर्मचारीले माथिल्लो तलाबाट हुने सेवाग्रहीको काम तल्लो तलाबाट रहने भएपछि घुइँचो बढेको छ। मालपोत कार्यालय प्रमुख केसीले लाइन जोड्दासम्म तल्लो तलाबाट केही ढिलो भएपनि ग्राहकको काम नरोकिने जानकारी दिए । उनले विद्युत प्राधिकरणलाई लाइन जोडिदिन पत्र पठाएको बताउँदै केही दिन भित्रै जडान हुने दाबी समेत गरे।