दार्चुला। दार्चुलाका सातमध्ये ६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन नयाँ कार्यसमिति चयन भएको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका नवीन विष्ट सभापति रहने गरी सबै सङ्गठनको सहमतिमै स्ववियुको समिति चयन गरिएको छ।
गोकुलेश्वर क्याम्पसमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला सचिव र नेविसङ्घका जगदीश विष्ट कोषाध्यक्ष चयन भए। दार्चुलाको सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा बुधबार भएको निर्वाचनमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को समिति चयन भएको छ। दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कृष्ण धामी निर्वाचित भए।
सचिवमा नेविसङ्घका जवनसिंह डडाल र कोषाध्यक्षमा अनेरास्ववियुका मनीषा डडाल चयन भए। दार्चुलामा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए भने नेविसङ्घ एक्लै प्रतिस्पर्धामा थियो।दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सचिवमा नेविसङ्घको र सचिवबाहेक सबै पदमा गठबन्धन विजयी भएको निर्वाचन अधिकृत धाना धामीले बताए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच क्याम्पसमध्ये चार क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ। जसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी को संयुक्त प्यानलले तीन रनेविसङ्घले एक क्याम्पसमा विजयी हासिल गरेको छ। अनेरास्ववियुको तर्फबाट शङ्करपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भए। अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको सभापतिमा जगदीश कोट्टारी विजयी भए ।राष्ट्रिय क्याम्पस दत्तुमा नेविसङ्घका सरोज ग्वाइला स्ववियु सभापतिमा विजयी भए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित भएको छ ।