धनगढी। धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। पत्रकार धामीलाई आफू नेपाल विद्यार्थी संघको नेता बताउने ओमप्रकाश अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका छन्। सो प्रकारको धम्कीको विरोध गर्दै नेपाल पत्रकार महासंघ कैलालीले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको हो।
महेन्द्रनगर पोष्टमा प्रकाशित ‘कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की’ शिर्षकको समाचारको विषयलाई लिएर समाचार किन लेखिस्रु तेरा हातखुट्टा भाँचिदिने भन्दै धम्क्याएकोप्रति पत्रकार महासंघ कैलालीको गम्भीर ध्यानाकर्ण भएको भन्दै अध्यक्ष हिमाल जोशीले जिल्ला प्रहरी कार्यालय कैलालीमा दोषीलाई कानुनी दायरामा ल्याउन निवेदन दर्ता गरेको बताए।
नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दबाब दिएको समाचार किन लेखिस्रु टाउको फुटालिदिन्छु, अब हिसावकिताब हुन्छ भन्दै अवस्थीले पत्रकार धामीलार्ई फोनबाट धम्क्याएका थिए। पत्रकार धामीलाई दिएको धम्की विरुद्ध नेपाल प्रेस युनियन कैलाली, प्रेस चौतारी कैलाली, प्रेस सेन्टर कैलाली र प्रेस चौतारी सुदूरपश्चिम प्रदेशले ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै विज्ञप्ती निकालेका छन्। समाचारमा असहमती भए कानूनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेका छन्।

