कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा अझै सुरु गरिएको छैन्। उक्त अस्पतालमा मिर्गौलाका बिरामीका लागि उपयोगी हुने डायलसिस मेसिन जडान भएको डेढ वर्ष भएपनी स्वास्थ्य सेवा विभागबाट अनुमति र सूचीकृत नहुँदा सञ्चालनमा आउन नसकेको हो।
उपकरण र तालिमप्राप्त जनशक्ति भएर पनि सेवा सञ्चालन नभएको भन्दै मिर्गौला रोगबाट पिडीतहरूले अस्पताल विकास समितिको ध्यानाकर्षण गराएका छन्। उनीहरुले महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा नहुँदा समस्या हुने गरेको बताए । उनीहरु महाकाली अस्पतालमा नभएपछि धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा जानुपर्ने बाध्यता रहेको बताएका छन्। सेती प्रादेशिक अस्पतालमा गएपनी उपचारका लागी पालो पाउनै मुस्किल हुने गरेको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका जयबहादुर बिष्टले बताए।
उनले पालो पाएपछि सेती अस्पतालले तपाईंकै जिल्लामा मेसिन आइसकेको छ, उतै गराउनुस् भनेर फर्काउने गरेको दुखेसो गरे । बिष्टले कञ्चनपुरबाट ४० जनाभन्दा बढी मिर्गौला रोगी डायलसिसका लागि धनगढी पुग्ने गरेको बताए। उनीहरूमध्ये अधिकांश हप्ताको दुई/तीन दिन जान्छन् भने एक/दुई जना मात्रै एक दिन जाने गरेको बताए। यस्तै उनले भीमदत्त नगरपालिका, दोधारा चाँदनी, बेदकोट र दक्षिणी क्षेत्रका पनि अधिकांश बिरामी भारततिर जाने गरेको बताए । निजी स्वास्थ्य संस्थामा डायलसिस गराउँदा एक पटकको साढे ४ हजारसम्म खर्च लाग्ने गरेको छ ।
सेती प्रादेशिक अस्पतालमा पनि दुई पटकभन्दा बढी डायलसिस गराउँदा औषधि र अन्य सामानको साढे ३ हजारसम्म शुल्क लाग्ने गरेको बिष्टको भनाई छ । यता महाकाली प्रादेशिक अस्पतालले डायलसिस मेसिनलगायत अन्य उपकरण जडान, जनशक्ति भर्ना तथा तालिम दिने काम पनि भएको जनाएको छ। तर, डायलसिस सेवा भने सञ्चालन हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । उनले डायलसिस सेवाका लागि दुई महिनादेखि सबै उपकरण तयारी अवस्थामा राखिएको र डाक्टरदेखि स्टाफ नर्स सबैलाई तालिम पनि दिइसकिएको बताए।
उनले महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क डायलसिस सेवा सञ्चालन गर्ने भएकाले त्यसका लागि स्वास्थ्य सेवा विभागबाट अनुमतिसँगै सूचीकृतसमेत गर्नुपर्ने जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष भट्टले विभागको प्राविधिक टोली चैतभित्रै आउने भएकाले अनुमति दिनेबित्तिकै सेवा सञ्चालन हुने बताए । डायलसिस सेवा सञ्चालनका लागी ४ जना तालिमप्राप्त स्टाफ नर्स भर्ना,तीन डाक्टरलाई तालिम दिएको अस्पतालले जनाएको छ । अस्पतालमा ५ वटा डायलसिस मेसिन जडान गरिएकामध्ये ४ मेसिनबाट नियमित सेवा दिइने र एउटालाई आकस्मिक रूपमा राखिने अस्पतालले बताएको छ ।

