धनगढी। कैलालीका तीन जना कृषकलाई पुरस्कृत गरिएको छ । कैलालीका तीन कृषकलाई कृषि क्षेत्रमा उलेख्य काम गरेको भन्द उनीहरुलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट पुरस्कृत गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उनीहरूलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमा धनगढी ५ का रामकिसुन चौधरी,घोडाघोडी ८ का पहलवान देउवा र लम्कीचुहा ९ का खड्क बहादुर महतो रहेका छन्। कृषक चौधरीले तरकारी खेती, देउवाले पोल्ट्री फर्म र महतोले मत्स्य व्यवसायबाट उलेख्य काम गरेकाले पुरस्कृत भएका हुन्।
कृषि विकास निर्देशनालयमा आज आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई जनही २५ हजार र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो। सुदूरपश्चिम सरकारले कार्यविधि बनाएर कृषि र पशुपालन क्षेत्रमा राम्रो काम तथा आम्दानी गर्ने किसानको हौसला बढाउनका लागि सो पुरस्कार र सम्मान प्रदान गरिएको जनाएको छ। डडेल्धुरा जिल्लामा जन्मिनुभएका किसान नेता एवं शहीद भीमदत्त पन्तको नामबाट उक्त पुरस्कार राखिएको हो ।धनगढी ५ का कृषक रामकिसुन चौधरीले भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफू पुरस्कृत भएकोमा आफू निकै खुसी हुनुकासाथै कृषि क्षेत्रमा काम गर्ने थप हौसला प्रदान भएको बताए।
४ बिगाहा जमिन भाडामा लिएर बेमौसमी तरकारी खेती र गँड्यौला मल उत्पादन गर्दै आएका चौधरीले राष्ट्रपति पुरस्कारसम्म जाने सोच भएतापनि अहिले जिल्लाबाट सम्मानित हुँदा पनि खुसी लागेको बताउँछन् ।यस्तै घोडाघोडी ८ का कृषक पहलवान देउवाले किसानहरूलाई छनोट गरेर सम्मान गरेको धन्यवाद दिँए। उनले कोरोनाको महामारीमा आफूले १ सय बङ्गुर। २ सय ५० बाख्रा, दुई बिगाहामा कागती खेतीगर्दै आइरहेको भएपनि आफूले थुप्रै समस्यामा परेको बताए। उनले २५ जनालाई समेत रोजगारी दिँदै आइरहेको बताएका छन्।
२ करोडको लगानीमा कुखुरा पालन गरेका कृषक देउवाले भुकम्प,कोरोना महामारी लगायत समस्याले व्यवसायमा नोक्सान बेहोरेको बताए। उनले अहिले आफुसँग दुई ढाई सय बङ्गुर र बाख्रा पालन, कागती खेती, ड्रागन फुड, २ बिगाहामा लसुन खेती गरिरहेको बताए। तर अहिले बैङ्कको चर्को व्याजदरका कारण हामीजस्ता किसानलाई निकै मारमा परेको बताए। यस्तै लम्कीचुहाका कृषक खड्क महतोले काम गर्ने सिलसिलामा थुप्रै बाधा अवरोध भए पनि तिनै बाधा अवरोधका बिचमा पनि व्यवसायलाई अगाडि बढाउँदै गइरहेको बताए। सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका तीन/तीन जनाका दरले कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्दै आइरहेको कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ। कार्यक्रममा पशुपंक्षी तथा मतस्य विकास निर्देशनालय, तथा कृषि ज्ञान केन्द्र कैलाली र पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

